top of page
yghimirey

बिरालोको भान्जा बाघ, अन्य नातेदारहरु को को छन् ?

Updated: May 13, 2019

हाम्रा पुर्खाले बिरालो र बाघलाई मामा र भान्जाको संज्ञा दिए । वैज्ञानिकहरुले यिनीहरु नजिकका प्रजाति हुन् भनेर वैज्ञानिक आधार दिनु भन्दा अगाडी नै यो पत्ता लगाइसकेका रैछन । तर रमाइलो कुरा के भने घर बिरालोको काका, भान्जा, भतिज र अरु सन्तानका बारेमा चैं खोज्ने समय पाएनन् वा जुरेन । वैज्ञानिकहरुले अरु बिराला प्रजातिहरू जस्तै चरी बाघ, ध्वाँसे चितुवा, हिउँ चितुवा, सिंह, चिता आदि पनि घर बिरालोसँग नजिक रहेछन् भन्ने प्रमाण जुटाई नै सकेका छन् l मात्रै कसरि र कति नजिकका रैछन भनेर बुझ्न जरुरी हुन्छ l


बिरालो प्रजाति भनेको के हो ?

वैज्ञानिकहरुले विश्वभरी पाइने जनावरहरुको विशेषताहरु पहिचान गरेर छुट्टा छुट्टै समुहमा राखेका छन् । बिरालो प्रजातिहरुको पनि आफ्नै विशेषताहरु छन् जस्तै बाँच्नका लागि अनिवार्य मासु चाहिनु, तिखा कुकुर दाँत, नंग्रा लुकाउन सक्नु, प्राय सजिलै रुख चढ्न सक्नु । अरु जनावरको तुलनामा यिनीहरु बढि साँझ, राति र एकाबिहानै सक्रिय हुन्छन् जसका लागि यिनको आँखा थोरै प्रकाशमा पनि राम्रो देख्न सक्ने गरि विकसित भएका हुन्छन् l यिनको सुन्ने शक्ति पनि तीक्ष्ण हुन्छ ।

यिनीहरुको अरु विशेषताहरु पनि हुन्छन् जस्तै दिनको १६ देखि १८ घण्टा सम्म सुत्ने, प्रजननको समयभन्दा बाहेक प्रायजसो जोडीमा नबस्नु आदि । कुनै कुनै विशेषताहरुमा अपवाद भएपनि सामान्यतया यस्ता विशेषता भएका जनावरहरुलाई बिरालो समुहमा राखिएको छ । तपाँईहरु भन्नुहोला कुकुरको पनि तिखा दाँत हुन्छ । यो कुरो सहि हो तर कुकुरहरुले आफ्ना नंग्रा लुकाउन सक्दैनन् र रुख पनि चढ्न सक्दैनन् ।


संसारका बिराला प्रजातिहरू

बिरालो भन्ने बित्तिकै हाम्रो मगजमा त्यहि बाघलाई रुख चढ्न सिकाउने, मानव बस्ती वरिपरी घुम्ने र आफ्नो दिसा सकेसम्म जमिनमा पुर्ने बिरालो मात्र सम्झन्छौं । तर भर्खरै गरिएको बिरालो प्रजातिहरुको शारीरिक बनौटको सुक्ष्म अध्ययनबाट संसारभरमा जम्मा ४१ प्रजातिका बिराला प्रजातिहरू पाइन्छन् भन्ने तथ्य अगाडी आएको छ । यस अध्ययनमा जंगली बिरालोहरुको मात्र मुल्यांकन गरिएको थियो जसले गर्दा घर बिरालो यस ४१ प्रजाति भित्र परेको छैन । यिनीहरुमध्ये पनि एक अर्कासंग वंशानुगत हिसाबले कति नजिक वा टाढा छन् भनेर गरिएको अर्को अध्ययनले बिराला प्रजातिहरुलाई आठवटा लिनियेज (अणुवांशिक समूह) मा विभाजित गरेको छ ।

अन्टार्कटिका बाहेक विश्वका सबै महादेशहरुमा कुनै न कुनै बिराला प्रजातिहरू पाइन्छन् । पाटे बाघ, हिउँ चितुवा र ध्वाँसे चितुवा एसिया महादेशमा मात्रै पाइन्छ भने सिंह अफ्रिकामा र एसियाको खासगरी भारतको गुजरात राज्यमा पाइन्छन् । त्यसैगरी चिता पनि अफ्रिका र एसियाको इरान देशमा मात्र पाइन्छन् । ज्यागुवर र पुमा भने उत्तर तथा दक्षिण अमेरिकामा मात्रै पाइन्छन् । साना बिराला प्रजातिहरू धेरै जसो एउटा महादेशमा मात्रै पाइन्छन् जस्तै खिया थोप्ले बिरालो, चरी बाघ, मलाहा बिरालो एसियामा पाइन्छन् भने ओसेलोट, जागुवार्यान्डी, मार्गे आदि अमेरिकामा । यसमा पाहन बिरालो र क्याराकाल अपवाद हुन् जो क्रमशः एसिया र योरोप अनि एसिया र अफ्रिकामा पाइन्छन् ।


नेपालका बिराला प्रजातिहरू

नेपालमा जम्मा १२ बिराला प्रजातिहरु पाइन्छन् जुन विश्व भरिको झन्डै ३० प्रतिशत हुन्छ । यसमा घर बिरालो भने समेटिएको छैन । संसारको सबैभन्दा ठुलो बिरालो प्रजाति पाटेबाघ र सबैभन्दा सानो खियाथोप्ले बिरालो हुन् र दुवै प्रजाति नेपालमा पाइन्छन् । पहिले शुरु गरौँ घर बिरालोसंग सबैभन्दा नजिक पर्ने प्रजातिहरूबाट

१) वन ढाडे: नेपालमा पाइने बिरालोका प्रजातिहरुमध्ये वंशानुगत हिसाबले हेर्ने हो भने वन ढाडे घर बिरालोसंग सबैभन्दा नजिक मानिन्छ । यी दुई प्रजाति एउटै लिनियेजभित्र पर्छन् । यसलाई अंग्रेजीमा Jungle Cat भनिन्छ । यसको कान जुराहरु हुन्छन् र खुट्टाहरु लामा हुन्छन् साथै मुख वरिपरी सेतो हुन्छ । यसको तौल १२ केजी सम्म हुने गर्दछ । यो तराई देखि मध्य पहाडी क्षेत्रसम्म पाइन्छ । मानव बस्ति छेउ छाऊ बस्ने र कुखुरा लगायत साना घरपालुवा जनावर खाने भएको हुनाले मानिसले यसलाई त्यति मन पराएको पाइंदैन ।


बन ढाडे नेपालमा पाइने सबैभन्दा परिचित बिरालो प्रजाति हो भन्दा फरक पर्दैन । Photo: Soumyajit Nandi

२) चरी बाघ: बन ढाडे पछी घर बिरालोको सबैभन्दा नजिक भनेको चरी बाघ हो । यसको जिउमा बाक्लो कालो थोप्लाहरु हुने भएकोले यो सानो चितुवा जस्तै देखिन्छ जसले गर्दा प्राय मानिसहरु यसलाई चितुवा वा हिउँ चितुवाको बच्चा भनेर पनि झुक्किने गर्दछन् । शायद यहि कारण होला यसको अंग्रेजी नाम Leopard Cat भएको । यस प्रजातिको तौल १ देखि ४ केजी सम्म हुन्छ । यो बिरालो तराईदेखि हिमाली भेगसम्म (समुद्री सतहबाट ४५०० मिटर माथीसम्म) अभिलेख भएको छ । यसले विशेषगरी मुसा, चरा, लोखर्के मारेर तिनीहरुको संख्या नियन्त्रण गर्ने गर्दछ ।


सिक्लेस नजिकै क्यामरामा कैद भएको चरीबाघ । Photo: Friends of Nature

३) मलाहा बिरालो: हेर्दा उस्तै भएपनि चरी बाघको तुलनामा मलाहा बिरालोको टाउको ठुलो, खुट्टाहरु छोटा अनि जिउ खँदिलो हुन्छ । यसको अंग्रेजी नाम Fishing Cat हो र यो प्रजातिको प्रमुख आहारा नै माछा हो । यसको तौल ५ देखि १६ किलो सम्म हुन्छ । यसको आहारा र वासस्थान (सिमसार) अरु बिरालो प्रजातिभन्दा अलि विशेष हुने भएकोले तिनको अभावमा यो प्रजाति अफ्ठ्यारोमा पर्नसक्छ । नेपालमा यो कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुन्ज, बारा जिल्ला र कपिलवस्तु जिल्लाबाट भेटिएको छ ।


बाराको बोधबनमा भेटिएको मलाहा बिरालो । Photo: Sagar Dahal

४) खियाथोप्ले बिरालो: नेपालबाट २०१४ मा मात्रै पत्ता लागेको यो प्रजातिलाई अंग्रेजीमा Rusty-spotted Cat भनिन्छ । यो घर बिरालो भन्दा पनि सानो हुन्छ र अणुवांशिक आधारले यो प्रजाति पनि घर बिरालोको एकदमै नजिक मानिन्छ । यसको तौल १-२ केजी मात्रै हुन्छ । नेपालमा यो प्रजाति अहिले सम्म शुक्लाफांटा र बर्दिया राष्ट्रिय निकुन्जबाट मात्र भेटिएको छ । यसले मुसा, चरा, छेपारा आदि खाएर यिनीहरुको संख्या निर्धारण गर्दछ ।


आफ्नो आहारा (मुसा) मुखमा लिएर हिंड्दै खियाथोप्ले बिरालो । Photo: Vidya Athreya

५) पलासको बिरालो: नेपालमा २०१३ मा पहिलो पल्ट नेपालबाट अभिलेख भएको यो प्रजातिलाई Pallas' Cat भनिन्छ । यसको होचो जिउ र बाक्ला रौँ भएको हुनाले यसको रुप अरु बिरालाहरुभन्दा भिन्न हुने गर्दछ । यो साँढे ४ किलो सम्म ठुलो पाइएको छ । अहिलेसम्म नेपालको मनांग, मुस्तांग तथा डोल्पा जिल्लाका उच्च हिमाली वासस्थानहरुबाट यो प्रजाति भेटिएको छ । यसको मुख्य आहारा ठुटे खरायो (Pika) हो ।


पलासको बिरालो रौंको डल्लो जस्तो हुन्छ । Photo: Ben Williams

६) पाहन बिरालो: नेपालमा अहिलेसम्म मुस्तांग, डोल्पा, ढोरपाटन र हुम्लाबाट मात्र भेटिएको पाहन बिरालोलाइ अंग्रेजीमा Eurasian Lynx भनिन्छ । यसको कान जुरो एकदमै लामो र पुच्छर छोटो हुन्छ जसले गर्दा चिन्न सजिलो हुन्छ । यसको तौल १८ देखि ३० किलोसम्म हुन्छ । यसको आहारको बारेमा अध्ययन कम भएपनि यसले फ्याउ मुसा, हिमाली खरायो, ठुटे खरायो र हिउँ कुखुरा लगायत चराहरु पनि खाने गर्दछ ।


काठमान्डौ स्थित सदर चिडियाखानाको कार्यालयमा राखिएको पाहन बिरालोको ट्याक्सीडर्मी । Photo: Yadav Ghimirey

७) छिरबिरे बिरालो: अंग्रेजीमा Marbled Cat भनिने छिरबिरे बिरालो नेपालमा पाइन्छ भन्ने गरिए पनि भर्खर मात्रै निधो भएको हो । यसको जिउमा थोप्लोको साटोमा विभिन्न पाटाहरु हुन्छन् जसले गर्दा यो सानो ध्वाँसे चितुवा जस्तो देखिन्छ । यिनीहरुको पुच्छर लामो हुन्छ जसले गर्दा यिनीहरुलाई रुखमा चढ्न र खेल्न सजिलो हुन्छ । यिनले मुसा, लोखर्के तथा चराहरु खाएर तिनको संख्या निर्धारण गर्दछन् । यिनीहरु २-५ किलो सम्म अभिलेख गरिएका छन् भने नेपालमा यो प्रजाति ताप्लेजुंग जिल्लाबाट मात्र भेटिएको छ ।


थाइल्याण्डमा खिचिएको छिरबिरे बिरालो । Photo: Paul Thompson

८) सुनौलो बिरालो: धेरै वर्षसम्म नेपालमा अभिलेख नभएको यो बिरालो २००९ मा मकालु-बरुण राष्ट्रिय निकुन्जबाट भेट्टाईएको थियो । त्यसपछि यो संखुवासभाकै तीनजुरे-मिल्के-जल्जले र पाँचथर-इलाम-ताप्लेजुंग क्षेत्रबाट भेटिएको छ । यसको तौल ९ देखि १६ किलो सम्म हुन्छ । यो २५०० मिटर भन्दा माथिका समशितोष्ण जंगल तथा वृक्ष रेखा आसपास पनि भेटिने गर्दछ र अरु बिरालो प्रजातिहरु भन्दा बढि दिउँसो पनि सक्रिय हुने गर्दछ । यसको आहारा भनेको मृग, लोखर्के, खरायो, रुख छुचुन्द्रा तथा पिउरा र कालिजहरु हुन् ।


तीनजुरे-मिल्के-जलजलेमा भेटिएको सुनौलो बिरालो । Photo: Friends of Nature

९) ध्वाँसे चितुवा: ध्वाँसे चितुवा यसको शरीरमा भएको ध्वाँसा जस्ता पाटाको कारणले एकदम राम्रो देखिन्छ । अंग्रेजीमा Clouded Leopard भनेर चिनिने यो छोटा खुट्टा, चौडा पन्जा र लामो पुच्छरका कारण सजिलै रुखमा चढ्न र त्यँही खेल्न सक्छ । यसका आहारा प्रजाति भनेको बाँदर, मृग, लोखर्के तथा चराहरु हुन् । अहिलेसम्म यो नेपालको काठमाडौँ, कास्की, लम्जुंग, गोरखा, रसुवा, ताप्लेजुंग, संखुवासभा, सुनसरी तथा पर्सा जिल्लाहरुबाट अभिलेख भएको छ ।


अन्नपुर्ण संरक्षण क्षेत्रमा भेटिएको ध्वाँसे चितुवा । Photo: Friends of Nature

१०) हिउँ चितुवा: अंग्रेजीमा Snow Leopard भनेर चिनिने यो प्रजातिका अनेकौं उपनामहरु छन् । यसलाई कतै हिमालकी रानी भनेर चिनिन्छ त कतै पर्वतको प्रेत भनेर । ठाउँ अनुसार नाम जस्तै भए पनि हिउँ चितुवा मानिसको लागि सधैं चाखको विषय भनेको छ । यो विशेषगरी वृक्ष रेखा भन्दा माथिका हिमाली क्षेत्रहरुमा पाइन्छ । यसले नाउर, झारल, कस्तुरी मृग तथा फ्याउ मुसा खाने गर्दछ ।


हुम्लामा भेटिएको हिउँ चितुवा । Photo: Friends of Nature

११) पाटेबाघ: अंग्रेजीमा Tiger भनिने पाटेबाघ संसारमा पाइने सबैभन्दा ठुलो बिरालो प्रजाति तथा जमिनमा पाइने सबैभन्दा ठुलो मांसाहारी जनावर हो । यसले जरायो, चित्तल, रतुवा, गौरीगाई, बँदेलहरु खाएर यिनको संख्या निर्धारण गर्दछ । यो २५० किलो सम्म ठुलो भेटिएको छ । नेपालमा यो चितवन राष्ट्रीय निकुन्ज, पर्सा राष्ट्रीय निकुन्ज, बर्दिया राष्ट्रीय निकुन्ज र शुक्लाफाँटा राष्ट्रीय निकुन्ज तथा चुरेका जंगलहरुमा भेटिन्छ ।

१२) चितुवा: अंग्रेजीमा Common Leopard भनेर चिनिने चितुवा नेपालमा सम्भवतः सबैभन्दा धेरै मानिसले चिन्ने बिरालो हो । यो तराइदेखि हिमालसम्म पाइन्छ साथै मानव बस्ति नजिकै पनि पाइन्छ । पहाडतिर यसलाई पनि बाघ भन्ने गरिन्छ जसले गर्दा कुनै कुनै ठाउँमा मानिसहरु यसलाइ पाटेबाघ भनेर झुक्किने गर्दछन् । यसले मृग, घोरल, थार, चित्तल, बाँदर तथा बँदेल खाएर मानिसलाई प्रत्यक्ष फाइदा पुर्याउँछ ।


अन्नपुर्ण संरक्षण क्षेत्रमा भेटिएको चितुवा । Photo: Friends of Nature

माथिका बिराला प्रजातिमध्ये धेरै साँझ, बेलुका र सबेरै मात्रै सक्रिय हुने हुनाले हामीले यिनीहरुको फाइदाको बारेमा बुझ्ने कमै मौका पाउँछौँ । हामीले थाहा नपाईकनै यिनीहरुले मुसा, खरायो, बाँदर, मृग, जरायो जस्ता हामीलाई हानि पुर्याउनसक्ने जनावरहरुको संख्या निर्धारण गरेर हाम्रो सहयोग गर्दछन् । तर यो कुरा भने पृष्ठभूमिमा हुने भएकोले धेरैले थाहा पाउन्नन् । नैतिक हिसाबले पनि हामीसंग यो पृथ्वी बाँडेर बस्ने यी बिराला प्रजातिहरुको सम्रक्षणको जिम्मा हाम्रो नै हो । यसैले हामी सबै यिनको संरक्षणमा जुट्नु पर्छ ।


624 views1 comment

Recent Posts

See All

1 Comment


chhatras670
Aug 28, 2023

Very useful information for us

Thank you for the information 😊🍀

Like
bottom of page