अचेलभरि 'मेरो दाह्री, दुनियालाई के को भारी' भन्ने नारा चर्चामा छ । दाह्री पाल्नेलाई हेपाहा प्रवृतिले हेर्ने गरिएकोले आजभोली विरोध पनि जनाउने गरिन्छ । सामान्यतः मेरो दाहृी पनि लामो नै हुने गर्दछ । दाहृी फाल्नै मन नलाग्ने त हैन तर जब पनि म आफ्नो दाहृी फाल्न अघि सर्छु, कुनै अदृश्य शक्तिले नाईको पसल जान आँटेका मेरा खुट्टाहरु बाटैबाट तानेर ल्याँउदछ । मेरो दाह्री पनि सामान्यतः लामो नै हुने भएकोले होला माथी भन्याजस्तै आफ्नो दाह्री हेरेर छ्या भन्यो भने कता कता झनक्क रिस पनि उठ्छ । तर साँच्चै भन्नु पर्दा कहिलेकाँही दाह्रीले अफ्ठ्यारो स्थितिमा पनि पुर्याउँदो रैच । अब दाहृीले गर्दा पाइएको दुःखको कुरा आइहाल्यो, म आफैलाई परेको एउटा घटना तपाँईहरुलाई यहाँ नसुनाई रहन सक्दिन ।
संखुवासभा र सोलुखुम्बू जिल्लामा पर्ने मकालु–बरुण राष्ट्रिय निकुञ्जभित्र ध्वाँसे चितुवा (Clouded leopard) को अध्ययनको क्रममा हामी (मसँग मेरा एक भाई प्रभात पाल पनि थिए जो अहिले अछाम जिल्लामा कार्यरत छन् ) ज्येष्ठ २०६६ तिर पहिलो फिल्डको निम्ति संखुवासभा तिर हानियौं । हाम्रो मात्र एउटै लक्ष्य थियो र त्यो थियो दुर्लभ ध्वाँसे चितुवालाई हाम्रो स्वचालित ट्रयाप क्यामरामा पार्नु । लगभग डेढ महिनासम्म याफू गाविसको विकट साइसिम्मा र वरपरको जंगल क्षेत्रमा क्यामरा ट्रयापिङ्गद्वारा त्यहाँ रहेका वन्यजन्तुको अध्ययन गरेर मानसिक रुपमा थकित हामी खाँदबारी आइपुग्यौं ।
खाँदबारी बजार रमाइलो थियो, गाउँलेपन झल्किने । हप्तामा एकचोटी हाट लाग्दथ्यो जहाँ नजिकका गाउँहरुबाट स्थानीय रुपमा पाइने तरकारी, फलफुल र अरु सामानहरु लिएर किसानहरु आउंथे जुन हामीलाई एकदम रमाइलो लाग्थ्यो । हामी खुब चाख दिएर हाट घुम्थ्यौं । शायद सानो ठाँउ भएर पनि होला हामी खाँदबारी बजार घुम्दा त्यहाँका स्थानिय वासिन्दाहरुले हामी दुई जनालाई झन् चाख दिएर हेर्दथे । लामो दाहृी र कपाल, पहिरण पनि साधारण भन्दा अलि छुट्टै - हिप्पीहरु जस्तो र सधैं क्यामरा लिएर हिँड्ने भएकाले पनि स्थानिय वासिन्दाहरुको आँखामा हामी कुनै अर्कै देशबाट आएका पर्यटक जस्ता लाग्दथ्यौं होला ।
खाँदबारी आएपछि सबैभन्दा पहिले ईमेल हेर्ने म खड्ग दाईको पसलतिर छिरें । मेरो मेलबक्समा एउटा यस्तो ईमेल देखें जुन देख्दा मलाई आश्चर्य त लाग्यो नै सँगसँगै बेस्मारी खुशी पनि लाग्यो । त्यो ईमेल पठाउने साथी थिए अमेरिकाका जेसन डेविस जो भोटखोला क्षेत्रमा त्यहाँका स्थानियहरुको रहन–सहन, भाषा र संस्कृतिको अध्ययन गर्न आएका थिए । उनीसँग हाम्रो देखादेख चाँहि काठमाण्डौंबाट तुम्लिङ्गटार जाने क्रममा नै भएको थियो तर बोलचाल भने खाँदबारी पुगेर आरती होटलमा आराम गर्दै गरियो । परिचयको क्रममा हामीले एक आपसलाई आफ्नो कामबारे पनि जानकारी गरायौं र त्यसै सन्दर्भमा हामीले उनलाई स्वचालित क्यामरा ट्रयाप पनि देखायौं जसले गर्दा होला हामी बीच छोटो समयमा नै राम्रो मित्रता भएको थियो । इमेल देखेर खुशी हुनुको प्रमुख कारण चाहिँ थियो त्यो ईमेलको शिर्षक जसमा लेखिएको थियोः ध्वाँसे चितुवा । त्यो इमेलमा जेसनले च्याम्ताङ नामक गाउँमा ध्वाँसे चितुवाको छालाको फोटो खिचेर पठाएको रहेछ । मनमनै उसलाई धन्यवाद दिएर हामी दुईले च्याम्ताङतिर लाग्ने निधो गर्यौँ ।
च्याम्ताङ गाउँ खाँदबारीदेखि हिंड्न सक्ने मान्छेका लागि ३ दिनको बाटोमा अवस्थित थियो । ढिलै हिंडे पनि ४ दिनमा त कसो नपुगिएला र भन्ने सोच बनाइ म र भाई प्रभात भोट खोला क्षेत्रतिर लाग्यौं । त्यस क्षेत्रको लागि नयाँ थियौं हामी दुवै यद्यपि म पहिले एकचोटि गएको थिएँ । पहिलो दिन हामी नुम पुग्ने ताकमा थियौं ।
हामी बिहान माने भञ्ज्याङ्गबाट गाडी चड्यौँ कुवापानी पुग्ने गरी । गाडीमा थुप्रै शिक्षक साथीहरु हुनुहुन्थ्यो र गफ गर्दै हामी अघि बढ्यौँ । कुवापानी पुगेपछि आफ्ना सँगै आएका साथीहरुलाई पछि छोड्दै हामीले भने कुलेलम ठोक्यौँ । बाटामा हामीलाई नहेर्ने शायदै कोहि थिए होलान् तर मेरो दाह्री र लामो अनि अलि अलि कैलो कपाल देखेर काठमाण्डौमा पनि कोहि कोहि मसँग अँग्रेजीमा कुरा गर्न थाल्ने भएका हुनाले मैले त्यति वास्ता गरेको थिइन । हामीलाई छिटो नुम पुग्नु थियो र भोलीको अज्ञात यात्रा शुरु गर्न पहिले राम्ररी आराम गर्नु थियो । नुम बजार पुग्नु पहिले एउटा १७-१८ वर्षको युवाले आफ्नो अनुहारमा हामीलाई सोध्यो "कहाँ से आया है "? उसको प्रश्न सुनेर मलाई एउटा नेपाली उखान याद आयो, कसलाई के धन्दा कसलाई के धन्दा, घर ज्वाँईलाइ खानको धन्दा । आफ्नो रिस भित्रै पगाली मैले उत्तर दिएँ, "कहीँ से भि नही आया है, तुमको क्या मतलब " ? तर उसले किन हिन्दीमा प्रश्न गरेको भनेर भने सोच्दै सोचिँन ।
हामी नुम बजार प्रवेश गर्दै गर्दा भलिबल खेल्दै गरेका सबै युवाहरु खेल्न छाडेर हामीलाई एकटक हेरिरहे तर हामीलाई भने उनीहरुले हेरेको कारण थाहा भएन र चासो पनि राखिएन । नुम पुगेर हामी एउटा होटल भित्र छिर्यौँ र बासको लागी एउटा कोठा माग्यौँ । होटल साहुले हामीलाई टाउकोदेखि पैतालासम्म हेरेर कोठा नभएको कुराको जानकारी दिए । हामी खङ्ग्रङ्गै हुनु स्वाभाविकै थियो र अब भने हामीलाई छड्के आँखाले हेरेको देखि हिन्दीमा प्रश्न सोधेकोसम्म किन होला भन्ने सोचले पनि पिरोल्न थाल्यो । हामीले हाम्रो यहाँ आउनाको उद्देश्य, हामी जाने ठाँउ र साँझ पनि पर्न आँटेकोले जसरी पनि एउटा कोठा दिनुपर्यो भन्ने तर्क राखेपछि उहाँले साँचो दिनुभयो । हामी सामान कोठामा राखेर माकालु–बरुण राष्ट्रिय निकुञ्जको अनुमती पत्र लिएर प्रहरी चौकीमा जानकारी दिन त्यतातिर लाग्यौँ ।
हामी प्रहरी चौकी नजिक पुग्दा यस्तो लाग्यो कि त्यो पुलिस चौकी नभएर कुनै बक्सिङ्गको रिङ्ग हो । चौकी अघाडीको खाली ठाँउलाई चारैतिरबाट नुम बजारका मान्छेहरुले घेरेका थिए र लाग्थ्यो उनीहरु त्यहाँ कि त मार्न या मर्न आएका हुन् । रिङ्ग भित्र एउटा बेञ्च थियो जसको ओरिपरी ४-५ जना प्रहरी थिए । अब भने मेरो मुटुको ढुकढुकी पनि बढ्न थाल्यो र बिस्तारै हामी रिङ्गको बिचमा राखिएको एउटा बेञ्चमा गएर बस्यौँ । त्यहाँ रहेका प्रहरीहरु मुसुमुसु हाँसिरहेका थिए मानौ उनीहरुले दुईजना कुख्यात अपराधीहरुलाई पक्रेर सोधपुछको निम्ति ल्याएका हुन् । एकजनाले हाँस्दै सोधे "तपाँइहरु के कामले आउनुभयो" ? मुटुको वेग छिटै भए पनि मैले आफुलाई सम्हाल्दै बिस्तारै छोटो उत्तर दिएँ "वन्यजन्तु अध्ययनको सिलसिलामा" र राष्ट्रिय निकुञ्जमा छिर्ने र अध्ययनको अनुमति पत्र देखाँए । प्रहरीको त सोधपुछ गर्ने काम नै पर्यो त्यसैले मलाइ केही नराम्रो लाग्या थिएन तर वरीपरी जम्मा भएका मान्छेहरुले उनीहरुको खसी-कुखुरा नै चोरेको जसरी जब हाम्रो खोजि नीति गर्न थाले तब मलाई साह्रै नै दिक्क लागेर आयो । प्रहरीले हाम्रो नागरिकता पनि माँग्यो जुन हामीले दियौँ र त्यही बेला एउटा २४-२५ वर्षको केटो आएर मेरो नागरिकता नक्कली भएको कुरा सुनायो जुन कुरा सुनेपछि मेरो कन्सिरीको रौँ तातेर आयो । अब भने मैले हामी डेढ महिनादेखि ताम्कु र याफु गाविसका गुफाडाँडा, देउराली, साइसिम्मा, गोंगथला, दोबाटाक र याङ्देन गाँउ वरिपरि बसेर वन्यजन्तुहरुको अध्ययन गरेको, ताम्कु चौकीमा रहेका असईसँग भेट भएको, खाँदबारीमा प्रमुख जिल्ला अधिकारीसँग कुराकानी भएको र त्यस ठाँउका अरु वरिष्ठ मान्छेहरुसँग भेट भएको प्रसँग सुनाएँ । त्यसपछि हामीले गर्दै गरेको कामदेखि हाम्रो तिन पुस्तेसम्मको सबै विवरण लेखियो । हामीले दिएका सबै विवरणका आधारमा प्रहरीले हामीलाई छोडीदियो र हामी सन्तोषको सास फेर्दै होटलतिर लाग्यौँ । तर हाम्रा होटल साहुले हामीलाई बाटैमा भेटेर कोठा छोड्नुपर्ने कुरा सुनाए । बिरक्तिएर हामी फेरी प्रहरी चौकी तिर लाग्यौं सहयोग माग्न । त्यहाँ रहेका असई साबले हामीलाई नजिकैको अर्को होटलमा बस्ने व्यवस्था मिलाइदिए ।
होटलमा पुगेपछि त्यस होटलका साहूबाट जड कुरो पत्तो लाग्यो । कुरो के रहेछ भन्दा त्यहाँका स्थानिय रेडियो र पत्रिकाहरुले जिल्लामा बच्चाहरुलाई लट्ठाएर उनीहरुको आँखा र मृगौला झिक्ने मधेशी मूलका केही मान्छेहरु छिरेको समाचारहरु तारैतार दिएका रैछन् । यति सुनेपछि बटुवाहरुले छड्के हेरेको, हिन्दीमा प्रश्न सोधेको र नुम बजारका सबै युवाहरु भलिबल खेल्न छाडेर हामीलाई हेरेको रहस्य खुल्यो ।
Comentários